March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

ग्राहकको चाप अनुसार बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

ग्राहकको चाप अनुसार बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

जेठ ३१, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर ग्राहकको चाप अनुसार  बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । महामारीका कारण बैंक तथा वित्तीय संस्थाले आलोपालो र कोटा प्रणालीअनुसार शाखा खोल्दै आएका थिए । यसरी आलोपालोअनुसार शाखा खोल्दा सेवाग्राहीको अत्यधिक भिडभाड भएको र यसले कोरोना सङ्क्रमणको जोखिम झनै बढेको भन्दै आलोचना भएसंगै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

Advertisement

आजसम्म वाणिज्य बैंकहरुले काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोलेर सेवा दिँदै आएका थिए। विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न पाएका थिए। भोलि अर्थात् मंगलबारदेखि लागू हुने गरी बैंकहरुले आफ्नो आवश्यकताअनुसार बैंक शाखा खोल्न पाउने भएका हुन्। तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ ।

Advertisement

बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।