August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र, राजस्व सङ्कलन ८ खर्ब नाघ्याे

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र, राजस्व सङ्कलन ८ खर्ब नाघ्याे

असार २, काठमाडौं ।

संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्ममा) जम्मा ४०.५४ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल  १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गरेका थिए तर आर्थिक बर्षको ११ महिना पार गर्दा लक्ष्यभन्दा ३१ प्रतिशत कम खर्च छ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशका कारण अपेक्षाकृत रूपमा पुँजीगत खर्च गर्न नसकेको सरकारले बताउँदै आएको छ। यद्यपि निषेध आदेश जारी हुनअघिसम्म पनि सरकारको पुँजीगत खर्चको अवस्था भने दयनीय नै थियो।

त्यस्तै चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा ७३.८३ प्रतिशत चालु बजेट खर्च भएको छ ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तमा (सोमबार) मात्र सरकारको पुँजीगत खर्च २ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ।  चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखिएको थियो। आर्थिक वर्षको ११ औँ महिना सम्ममा जम्मा ७ खर्ब मात्र खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालु भने धेरै नै खर्च भएको हो । संघीय सरकारले पुँजीगत खर्च बढाउन खर्च बढाउन नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभाव हुने गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा ८०.२९ अर्थात् ८ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जसमा ७ खर्ब ५८ अर्ब कर राजश्व संकलन भएको छ भने झण्डै ५४ अर्ब गैर कर राजस्व संकलन भएको छ । सरकारले यस वर्ष १० खर्ब ११ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले चालु आर्थिक वर्षको लागि १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको थियो । प्रत्यक्ष कर संकलनतर्फ ८३.०७ प्रतिशत प्रगति भएको र गैरकरतर्फ ५४.६३ प्रतिशत राजस्वको प्रगति भएको महालेखाको तथ्यांकले देखाएको छ।