September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

सेयरमा ५१ कम्पनी जोखिमयुक्त, धितोपत्र सम्बन्धी कसूरबारे अध्ययन हुँदै

सेयरमा ५१ कम्पनी जोखिमयुक्त, धितोपत्र सम्बन्धी कसूरबारे अध्ययन हुँदै

असार २, काठमाडौं ।

पुँजी बजारको नियामक धितोपत्र बोर्डले सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय क्षमताको मूल्यांकनका आधारमा हाल जोखिमयुक्त कम्पनीहरूको सेयरमा समेत अस्वभाविक चलखेल भएको आशंका गरेको छ ।  बोर्डले पछिल्लो समय गरेको अध्ययनका क्रममा सूचीकृत ५१ कम्पनी बजार मूल्यको हिसावमा तुलनात्मक रुपमा जोखिमयुक्त देखिएको जनाएको छ।

Advertisement

बोर्डले प्रारम्भिक अध्ययनको आधारमा त्यी संगठित संस्था (कम्पनी) हरूको नाम समेत सार्वजनिक गरेको  हो । ५१ सूचीकृत कम्पनीहरू छनौट गरी तिनीहरूको इन्साइडर ट्रेडिङ्ग, सर्कुलर कारोबार कर्नरिङ्ग लगायत धितोपत्र कसूर सम्बन्धी विस्तृत अध्ययन भैरहेको बोर्डले जनाएको छ ।  सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ। बोर्डले भनेको छ ‘बजार सधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो, यस बजारमा हल्ला वा लहैलहमा लागेर लगानी गर्नु जोखिमयुक्त हुन्छ।’

अध्ययनका लागि मानक निर्धारण गर्दा बोर्डले पछिल्लो एक वर्षमा ३०० प्रतिशत र सो भन्दा धेरै बजार मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यो भन्दा धेरै भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतको मूल्यांकनका आधारमा  ती कम्पनी जोखिमयुक्त रहेको बोर्डले प्रस्ट्याएको छ ।

यी कम्पनीहरूबारे बोर्डले करिब एक साताअघि नै प्रारम्भिक अध्ययन पूरा गरे पनि सार्वजनिक गरेको थिएन । सोमबार बसेको बोर्ड सञ्चालक समिति बैठकमा यस विषयमा पनि धेरै छलफल भयो । बजार अस्वाभाविक रूपमा बढिरहेका सन्दर्भमा जतिसक्यो छिटो यस्ता सूचना बाहिर ल्याउनु उचित हुन्छ भन्ने निष्कर्षका आधारमा बोर्डले मंगलबार अध्ययनले जोखिमयुक्त ठहराएका ५१ कम्पनीको नामावली सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनीको सेयर मूल्यमा असाध्यै धेरै चलखे भएको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका जलविद्युत् उपसमूहका कूल ४० कम्पनी सूचीकृत छन् । त्यसमध्ये ५० प्रतिशत कम्पनीको सेयर मूल्यमा धेरै चलखेल भएको पाइएको छ ।

बोर्डका अनुसार आँखु खोला जलविद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउण्टेन इनर्जी, माउण्टेन हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, सिनर्जी पावर, यूनियन हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोशी कम्पनीको सेयर मूल्यमा चलखेलको आंशका छ ।

यस्तै धितोपत्र बोर्डले ५ जीवन र ५ निर्जीवन गरी १० वटा बीमा कम्पनीको सेयर मूल्यमा ठूलो चलखेर भएको आशंका गर्दै यी कम्पनीमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको बताएको छ । एसियन लाइफ इन्स्योरेन्स, गुरास लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

यस्तै अजोड इन्स्योरेन्स, आईएमई जेनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । यस्तै ,कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

बोर्डले ४ वटा फाइनान्स कम्पनी र २ वटा माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्यमा चलखेल भएको आशंकामा अध्ययन शुरु गरेको छ । सेयर मूल्यमा चलखेल भएको आंशकामा गोर्खाज फाइनान्स, मल्टिप्रपोज फाइनानस, नेपाल फाइनान्स र समृद्धि फाइनान्स छन् । त्यसैगरी घोगीघोडा लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ । यस्तै बोर्डले सार्वजनिक गरेको ५१ कम्पनी मा हिमालयन डिस्टीलरी र शिवम् सिमेन्टसमेत परेका छन् ।