August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेको असर बजारमा, नेप्से ६३ अंकले घट्दा ११ अर्बको कारोबार

बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेको असर बजारमा,  नेप्से ६३ अंकले घट्दा ११ अर्बको कारोबार

असार ६, काठमाडौं ।

निरन्तर बढिरहेको बजार रोक्न धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेरसँगै त्यसको असर आज पनि सेयर बजारमा परेको छ । यही भएर साताको कारोबारको दिन आइतबार नेप्से ६३ दशमलव २८ अंकले घटेर २९ सय ५ दशमलव १४ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२.६१ अंकले घटेर ५२८ दशमलव ५१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २३१ कम्पनीको १ लाख २८ हजार २८१ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ । यस्तै  उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।

आज युनियन हाइड्रोको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस फाइनान्सको शेयर साढे पाँच प्रतिशतले बढेको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १८ सय ७५ रुपैयाँ मुल्य कायम भई ८० करोड २९ लाख बढीको कारोबार भएको छ । त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ४२ करोड ९८ लाख बढीको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ११ सय १३ रुपैयाँ कायम भएको छ । यसैगरी आज नेशनल हाइड्रोपावरको प्रतिकित्ता शेयरमुल्य ३०८ रुपैयाँ कायम भई ३३ करोड ४३ लाख बढीको शेयर कारोबार भएको छ ।

सेयर बजारका जानकारहरू  नियामक निकायले बैंक बजारमा जोखिम बढ्यो भन्ने विज्ञप्ति जारी गर्नुको साथै आगामी मौद्रिक नीतिलेसमेत बजारलाई असर गर्नसक्ने आशंकाले गर्दा बजारमा करेक्सन भएको बताउँछन् ।