August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

मौद्धिक नीति मार्फत पुर्नकर्जाको रकम, समय थप गरिदेउः हान

मौद्धिक नीति मार्फत पुर्नकर्जाको रकम, समय थप गरिदेउः हान

बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरिरहेको पुर्नकर्जाको रकम थप गरिनुपर्ने माग होटल संघ नेपाल (हान)ले राखेको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्र पर्यटन भएको गर्दा सो क्षेत्र माथि उठाउनको लागि सो कर्जाको अवधि अर्को एक वर्षसम्म कायम गर्न माग राखेको हो ।

हानले अर्थमन्त्री बिष्णु पौडेललाई कोरोनाको प्रभाव र आउँदो मौद्धिक नीतिमा आफ्ना समस्या राख्न सुझावपत्र दिदै पुर्नकर्जा र समय बढाउन माग गरेका हुन् । सुझावमा राष्ट्रबैंकले तोकेको दरमा २ प्रतिशतसम्म थप प्रिमियम लिने गरी गर्ने व्यवस्था रहेकोमा सो प्रिमियम रकम १ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गर्न संघले सुझाव दिएको हो ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले भेटमा बजेट मार्फत होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएपनि कार्यान्वयनमा आशंका रहेको बताइन् ।
हाल प्रयोगमा रहेका कोभिड लोन यस असार मसान्तसम्ममा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था रहेकोमा सो कर्जा रकम होटलको व्यवसायिक योजना अनुसार नगद प्रवाह मूल्यांकन गरी भविष्यमा पुरानो कर्जा भुक्तानी भएपश्चात तीन वर्षमा भुक्तानी हुने गरी तालिकीकरण गर्नुपर्ने समेत माग राखेका छन् ।

त्यस्तै हाल कोभिड–१९ को दोस्रो लहरमा रहेको र तेस्रो लहरको समेत सम्भावना कायम रहेको हुँदा होटल व्यवसाय पूर्ण रुपमा बन्द रहेको यस्तो अवस्थामा उद्योगलाई न्यूनतम मापदण्डमा कायम राख्न आवश्यक पर्ने चालू पँुजीको रुपमा थप कोभिड कर्जा व्यवसायीको मागअनुसार प्रदान गरिनुपर्ने माग हानले राखेको हो ।

हाल कायम रहेका कर्जा (होटल व्यवसाय निर्माणाधिनमा रहेका तथा सञ्चालनमा रहेका) एक वर्ष सम्मको वा कोभिडको असर रहेसम्मको व्याज होटल व्यवसायीको व्यवसायिक योजनाअनुसार भविष्यमा भुक्तानी हुने गरी व्याजको पुँजीकरण गरिनुपर्ने माग रोखको छ ।
हाल कायम रहेका कर्जाको किस्ता रकम गतवर्ष समेत पुनर्तालिकिकरण गरिसकिएको हुँदा यस पटक पुनः सो सुविधा व्यवसायिक योजनाअनुसार गर्न पाउने व्यवस्था हुनुपर्ने । साना तथा मझौला होटललाई पाँच करोडसम्म बिना धितो कर्जा प्रदान गरिनुपर्ने माग राखेको छ ।

भेटमा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् । सुझावपत्र बुझदै अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरु कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरुलाई आग्रह गरे । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट दिने, कोरोनाबाट प्रभावित होटल, ट्रेकिङलगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८÷०७९ मा तिर्नु पर्ने इजाजत तथा निवकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था गरेको बताए ।