March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सातामै वाणिज्य बैंकहरूको निक्षेप ४७ अर्ब रुपैयाँले बढ्यो

असार २४, काठमाडौं ।
पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । बैंकहरुको निक्षेप असार तेस्रो सातामै ४७ अर्ब रुपैयाँले बढेको हो । बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो साता ३९ खर्ब ९९ अर्ब रुपैयाँ रहेको निक्षेप बढेसंगै ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । प्रायः असार मसान्त नजिकिएसँगै सरकारको भुक्तानी बैंकिङ प्रणालीमा आउने भएकाले पनि निक्षेप संकलन ह्वात्तै बढ्ने गरेको छ ।

Advertisement

असार पहिलो सातापछि निषेधाज्ञा केही खुकुलो बनाउन थालेकाले अर्थतन्त्र पुनः चलायमान हुन थालेको र बैंकिङ प्रणालीमा पनि निक्षेप संकलन बढ्न गएको बैंकरहरूको भनाइ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको असार पहिलो साता निक्षेप वृद्धि शून्य थियो । तर, दोस्रो साता ८ अर्ब रुपैयाँले थपिएर कुल निक्षेप ३९ खर्ब ९९ अर्ब पुगेको थियो । जेठ महीनामा ३६ अर्ब रुपैयाँले मात्रै निक्षेप थपिँदा कुल निक्षेप ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको थियो । गत वैशाखमा ११ अर्बले निक्षेप वृद्धि भएको थियो । पछिल्लो समय निक्षेप वृद्धिसँगै बैंकहरूसँग कर्जा प्रवाह गर्ने क्षमता पनि बढेको छ ।

Advertisement

असारको तेस्रो साता मात्रै बैंकहरूबाट १४ अर्ब रुपैयाँको थप कर्जा प्रवाह भएको छ । अहिले कुल कर्जा ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । गत जेठमा मात्रै कर्जा प्रवाह वृद्धि ३६ अर्ब रुपैयाँले बढेको थियो । यस अवधिमा कुल कर्जा ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको थियो । यसअघिको महीना वैशाखमा भने ३७ अर्ब रुपैँयाँले कर्जा थपिँदा कुल कर्जा प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ भएको थियो । असार मसान्त नजिकिएकाले बैंकहरू कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । यही कारण पनि अहिले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कम देखिएको बताइएको छ ।

पछिल्ला सातामा सरकारले करिब ३७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । यो वर्ष सरकारले वर्षभर नै आन्तरिक ऋण उठाएको छ । चालु आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको थियो । यसअनुसार आर्थिक वर्षको पहिलो चार महिनामा ५७ अर्ब, दोस्रो चार महिनामा ५६ अर्ब र अन्तिम चार महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका राष्ट्र बैंकको थियो । सोहीअनुसार अहिले राष्ट्र बैंकले ऋण उठाइरहेको छ ।