October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार

असार २७, काठमाडौं ।
नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पाैड्याल र वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। यससँगै आज देखि एकीकृत कारोबार सुरू भएको बैंकले जानकारी दिएको छ।

Advertisement

दुवै संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो। नेपाल राष्ट्र बैंकले गत १८ गते अन्तिम स्वीकृति दिएपछि आजबाट नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ।नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो।  नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।

Advertisement

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ। नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ। युनाइटेडमा वसन्त चौधरीको लगानी छ। नबिल बैंकको अन्तिम सेयर मूल्य १२९७ रुपैयाँ छ। युनाइटेडको ४२३ रुपैयाँ छ। अहिले युनाइटेडको सेयर कारोबार रोक्का छ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ।  कूल पुँजीकोष ३२ अर्ब ६८ करोड रूपैयाँ हुने बैंकले जनाएको छ।

साथै, नबिल बैंकको शाखा सञ्जाल बढेर १३५ र एटीएम १८३ पुगेको छ। निक्षेपको आकार २१६ अर्ब रूपैयाँ र कर्जाको आकार २०१ अर्ब रूपैयाँ हुने बैंकले जनाएको छ। यससँगै बैंकको कर्जा एवं निक्षेप दुवैको आकार दुई खर्ब रूपैयाँभन्दा माथि हुनेछ। यो प्राप्तिसँगै बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत् नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुने बैंकको भनाइ छ।

अहिले नबिलको जगेडा कोष १७ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ थियो र युनाइटेडको ६१ करोड ९१ लाख रुपैयाँ थियो। यसबाहेक सेयर आदानप्रदान अनुपातबाट अर्को ६७ करोड ६५ लाख रुपैयाँ पनि जगेडा कोषमा थपिएको छ। यसले गर्दा अब नयाँ बैंकको जगेडा कोष १८ अर्ब ८२ करोड २५ लाख रुपैयाँको भएको छ।