September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

ओली सरकारले सिफारिस गरेका ९ राजदूत नियुक्ति खारेज

ओली सरकारले सिफारिस गरेका ९ राजदूत नियुक्ति खारेज

साउन ३, काठमाडौं ।

Advertisement

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना  राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ । साउन १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेज गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । मन्त्रालय स्रोतका अनुसार राजदूत सिफारिस भएकाहरुको सम्बन्धित मुलुकमा एग्रिमो का लागि पत्राचार समेत गरिएको थियो ।

Advertisement

गत जेठ १ गते ओली सरकारले विभिन्न मुलुकका ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले बताए । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए।

ओली सरकारले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, , दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो । त्यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो ।

ओली नेतृत्वको अघिल्लो सरकारले राजदूत नियुक्त हुन कम्तीमा स्नातक उत्तीर्ण गरेको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्ने व्यवस्थालाई संशोधन गरी पूर्वमन्त्रीको हकमा स्नातक उत्तीर्ण हुन नपर्ने व्यवस्था गरेको थियो । तर सर्वोच्चले त्यसलाई खारेज गरेको थियो ।