September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

देशभर १० लाख ४८ हजार हेक्टरमा धान रोपाइँ

देशभर १० लाख ४८ हजार हेक्टरमा धान रोपाइँ

साउन ७, काठमाडौं ।

बाढीपहिरोलगायत कारणबाट यसपालि धान रोपाइँमा ढिलाइ भएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशभर ७६.४४ प्रतिशतमात्र रोपाइँ भएको छ। गत वर्ष साउन पहिलो सातासम्म ८१.८५ प्रतिशत धान रोपाइँ भइसकेको थियो।

Advertisement

नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । हालसम्म १० लाख ४८ हजार ५०७.१७ हेक्टरमा मात्र रोपाइँ भएको छ। बाढीपहिरोले थप प्रभावित पारेन भने साउन तेस्रो हप्तासम्म रोपाइँ सकिने विभागको भनाइ छ।

विभागको तथ्यांकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ। त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत रोपाइँ भएको छ।

त्यस्तै देशको कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत रोपाइँ भएको छ। तराईका जिल्लामा साउन मसान्तसम्म रोपाइँ गर्न सकिने भएकाले गत वर्षकै अनुपातमा रोपाइँ हुन सक्ने बताईएको छ ।

पर्याप्त सिँचाइको सुविधा नहुँदा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । ठूला क्षेत्रमा एकैसाथ सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माण शुरु गरिएको सिँचाइ आयोजना सम्पन्न हुन सकेका छैनन् । यसपालि समयमै रोपाइँ सम्पन्न भएमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको छ।