September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

वित्तीय प्रणालीमा तरलता बढेपछि २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा तरलता बढेपछि २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

साउन १३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन उपरकण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार साउन १३ गते अर्थात् आज बुधबार अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा मौद्रिक उपकरण जारी गर्न लागिएको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलन कायम गर्नका उक्त निक्षेप संकलन जारी गर्न लागेकोे जनाएको छ ।

बोलकबोलको माध्यमद्धारा बिक्री गर्न लागिएको यो निक्षेप संकलन उपकरणको परिपक्व हुुने अवधि १४ दिन तोकिएको छ । सो अनुसार उपकरणको सावाँ ब्याज भुक्तानी मिति भने २०७८ साउन २७ गते तोकिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

Advertisement

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत प्रयोग  गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७७/०७८  मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ दशमलव तीन प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३ दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २० दशमलव आठ प्रतिशतले बढेको छ । २०७८ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४८ दशमलव पाँच प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव सात प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ४८ दशमलव दुई प्रतिशत रहेको थियो । २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ९८ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६ दशमलव तीन प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ कोमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४० दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९ दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलव चार प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८ दशमलव नौ प्रतिशतले बढेको छ ।