September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

राष्ट्र बैंकले खरीद गर्ये चार खर्ब ८९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ

राष्ट्र बैंकले खरीद गर्ये चार खर्ब ८९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ

साउन १३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चार खर्ब ८९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७–०७८ को पछिल्लो ११ महिनामा अमेरिकी डलर चार अर्ब १६ करोड बिक्री गरी चार खर्ब ८९ अर्ब ९८ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी चार खर्ब तीन अर्र्ब तीन करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

यस्तै समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर तीन अर्ब १४ करोड खुद खरिद गरी तीन खर्ब ७१ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ५८ करोड खुद खरिद गरी चार खर्ब १६ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो । यसैगरी राष्ट्र बैंकले पछिल्लो ११ महिनाको अवधिमा तीन खर्ब तीन अर्ब २९ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो ।

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ४८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ७८ अर्ब तरलता प्रशोचन भएको थियो । समीक्षा अवधिमा रिपोमार्फत ५९ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब ३३ अर्ब २७ करोड गरी कुल एक खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड गरी कुल दुई खर्ब १९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकले पछिल्लो नौ महिनाको अवधिमा तीन खर्ब तीन अर्ब रुपैयाँभन्दा बढीको तरलता प्रशोचन गरेको थियो । बैंकले उक्त समयमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरेको हो ।