September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

आयात खर्चमा १० प्रतिशतसम्म मुनाफा रहने गरी खोप ल्याउन निजी क्षेत्रलाई अनुमति

आयात खर्चमा १० प्रतिशतसम्म मुनाफा रहने गरी खोप ल्याउन निजी क्षेत्रलाई अनुमति

साउन १७, काठमाडौं ।
सरकारले कोरोनाभाइरस विरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिएको छ । सरकारले खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी खोप ल्याउन अनुमति दिइएको हो । खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न अनुमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना खोप सरकारले ल्याउँदै आएको थियो । अब निजी क्षेत्रले पनि ल्याउन पाउने भएका छन् । यसका लागि निजी क्षेत्रलाई स्वीकृति दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस सम्बन्धमा कुन कुन निजी कम्पनीले कति मात्राको खोप आयात गर्न अनुमति दिइयो भन्नेबारे जानकारी दिइएको छैन । कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकारले विकल्पको रूपमा निजी क्षेत्रलाई खरिद अनुमति दिएको जनाएको छ । यससँगै आगामी चैतसम्म सबै नागरिकलाई पुग्ने गरी खोप आउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयले चीनबाट सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरीदको सम्झौता भएको, कोभ्याक्स सुविधा मार्फत जापानबाट अनुदानमा १६ लाख डोज र भारतबाट खरीद गरिसकिएको तर आउन बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आकलन गरेको छ । हालसम्म मित्रराष्ट्र भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त एक लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको पौडेलले जानकारी दिए ।

यसैगरी मित्रराष्ट्र चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट मित्रराष्ट्र चीनको सिनोफार्म कम्पनीसँंग गरिएको खोप खरिदको सम्झौताअनुसार साउनमा ४० लाख डोज गरी कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन (जेएन्डजे) १५ लाख ३४ हजार ८५० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसअघि सरकारले निजी क्षेत्रलाई मुनाफा नदिँदा भारतबाट आउने कोभिशिल्ड रोकिएको थियो । जसले गर्दा गत फागुनमै पहिलो डोज लगाएका नागरिकले अहिलेसम्म दोस्रो डोज लगाउन पाएका छैनन् ।