September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

आगामी माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छः स्वास्थ्य राज्यमन्त्री

आगामी माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छः स्वास्थ्य राज्यमन्त्री

साउन १८, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका हुन् । उनले महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि मित्र राष्ट्र तथा दात्री निकायहरुसंगको खोप कूटनीतिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनका अनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने बताएका छन् । त्यसैगरी १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको पनि उनले बताए । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

Advertisement

कोभिड खोपको उत्पादन नेपालमै गर्ने अध्ययन भईरहेको बताउँदै उनले आगामी दिनमा यस विषयमा विज्ञ र सम्बन्धीत क्षेत्रसँग छलफल गरेर अघि बढ्ने पनि बताए । कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै भारतसंगको सिमाक्षेत्रमा होल्डिङ्ग सेन्टर बनाउने, जनशक्तिको आवश्यकता परिपूति गर्न आवश्यक समन्वय गर्ने, स्वास्थ्यकर्मीको सेवा सुविधाको लागि उचित व्यवस्था गर्ने जस्ता तयारी गरेको पनि उनले बताए । उनले हालसम्म ९७ लाख खोप आइसकेको बताए ।

कोभिडविरुद्धको खोप काठमाडौँमा ११ लाख ५७ हजार ५५७ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कोभिसिल्डको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या दुई लाख ५१ हजार १६० छ । पहिलो मात्रा एक लाख ६० हजार ६५९ र दोस्रो मात्रा ९० हजार ५०१ जनाले लगाएका छन् । भेरोसेल खोप कुल सात लाख ६७ हजार ९३९ जनाले लगाएका छन् । पहिलो मात्रा पाँच लाख २१ लाख ९६४ र दोस्रो मात्रा दुई लाख ४५ हजार ९७५ जनाले लगाइसकेका छन् । त्यसैगरी अमेरिकी जोनसन एण्ड जोनसन खोप एक लाख ३८ हजार ४५८ जनाले लगाएका छन् ।