एक महिनामा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रियो
असोज ७, काठमाडौं ।
साउन महिनामा झण्डै ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। तर अघिल्लो वर्षको तुलनामा भने गत वर्ष रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । गत वर्ष कारोना महामारीको कारण बैदेशिक रोजगारीमा जानेको सँख्या घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाख रुपैयाँले घाटामा रहेको छ ।
प्रतिकृया दिनुहोस्