April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सेयर बजारमा ७० अंकको पहिरो, सबै समूह राताम्मे

असोज १२, काठमाडौं ।

Advertisement

साताको  तेस्रो दिन पनि शेयर बजार उच्च अङ्कले घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । दिनभर २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ७५ हजार ३७४ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ पुगेको छ ।

Advertisement

 

 

बजार घट्नुमा तरलता अभावलाई प्रमुख कारण मानिएको छ । केन्द्रीय बैंकले लागू गरेको सीडी रेसियोका कारण तरलता व्यस्थापनमा कठिनाई हुन थालेको बैंकरहरुको दाबी छ । तथापि, अब तरलता विस्तारै सहज हुँदै जाने अनुमान गर्न सकिन्छ । किन भने बल्ल बजेट कार्यान्वयनमा आएको छ । सरकारले भुक्तानी दिन पनि थालेको छ । यसकारण विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
 यस्तै, दसैंतिहारमा रेमिटेन्स भित्रिनेक्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ । यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरु भइरहेका छन् ।  अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरु बताउँछन् ।

आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।  बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन  २४, जलविद्युत १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन्। सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसैगरी, दोस्रोमा हिमालयन डिष्टिलरी र तेस्रोमा नेसनल हाइड्रोपावर परेका छन् ।