May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

उपत्यकामा स्मार्ट लकडाउन, यस्तो छ प्रशासनको आदेश (सूचनासहित)

उपत्यकामा स्मार्ट लकडाउन, यस्तो छ प्रशासनको आदेश (सूचनासहित)

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।

Advertisement

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो। त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

Advertisement

नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ। सोमबार मात्र १४ सय बढीमा संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि देखिएको छ। हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ।