सहकारीको ५ करोड रकम हिनामिना गर्ने दुई जना कारागार चलान
दाङमा एक सहकारी संस्थाको ५ करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०÷५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।
त्यस्तै, सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । भण्डारी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष समेत हुन् । केही वर्ष पहिले तीन वटा सहकारीलाई मर्जर गरी देउखुरी बचत तथा ऋण सहकारी संस्था बनाइएको छ । राप्ती गाउँपालिका वडा नं. ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्ल समेतका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी, किरण भण्डारी समेतलाई प्रतिवादी बनाई २० जनाविरूद्ध मुद्दा दिएका थिए ।
ती प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसँग अदालतले गत साउनमा साढे दुई लाख धरौटी माग गरेको थियो। उनले तोकिएको धरौटी बुझाएका थिए । तर, भण्डारी, ज्ञवाली र पौडेल भने फरार रहँदै आएका थिए । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरू अन्तिममा अदालतमा उपस्थित भएका थिए । अदालतले मुद्दाको पुर्पक्षका लागि उनीहरूसँग रकम हिनामिना प्रकरणमा नगद वा सो बराबरको जेथा जमानत माग गरेको हो ।
कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस– ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा राप्ती गाउँपालिका इञ्चार्ज र पार्टीको जिल्ला सदस्य थिए । त्यस्तै ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य हुन् ।
#आर्थिक हिनामिना #कारागार #चलान
प्रतिकृया दिनुहोस्