January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

जाम हटाउन जापानीका तीन विकल्प

जाम हटाउन जापानीका तीन विकल्प

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको छ । बानेश्वर, कोटेश्वर, माईतीघर लगायतका स्थानको इन्टर सेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्प सहितको अध्ययन गरिएको हो । जसमा कोटेश्वरलाई पहिलो प्राथमिकतामा राखिएको छ । जापानको ऋण सहयोगमा निर्माण गरिने छ । सम्झौता भने भएको छैन । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा हुने गरेको घण्टौसम्मको जाम घट्ने अपेक्षा गरिएको छ । काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो । एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ । ७ जना प्राविधिक सहितको टोलीले फेव्रुअरीदेखि अध्ययन थालेका थिए । प्रारम्भिक प्रतिवेदन दिएर अहिले उनीहरु फर्किसकेका छन् । टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग निर्माण गर्ने रहेको छ । बानेश्वर र तिनकुनेबाट सुर्य्विनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केहि फराकिलो बनाईनेछ । त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ । १ हजार एक सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ । करिव २४ अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । काम थालेको ४८ महिनामा सकिने प्रतिवेदनमा उल्लेख छ । अर्कौ विकल्पका रुपमा तिनकुने हुँदै बालकुमारी तिर निस्कने सडकमा ’फ्लाई ओभर’ हालिनेछ । रिङरोडमा करिव १ हजार ३ सय २० मिटर लामो फ्लाईओभर निर्माण गर्नुपर्छ । भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्था (सतह) मा राखेर फराकिलो बनाईनेछ । ९ अर्व ९ करोड रुपैयाँ लाग्ने अनुमान छ । तेस्रो विकल्प भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिनेछ । भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ । सुरुङमार्ग १ हजार ८ सय ६० मिटर लामो हुनेछ । यसका लागि २४.६ अर्व रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।

Advertisement