सीटीईभीटीद्वारा जनसचेतना अभियान शुरू
२४ माघ, काठमाडौं ।
देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा, तालीम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रवर्द्धन गर्ने उदेश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले सीटीईभीटी बुधवारदेखि जनसचेतना अभियान शुरू गरेको छ ।
विद्यार्थी, प्रशिक्षार्थी, समुदाय, उद्योग तथा वाणिज्यको क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर सो अभियानले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको महत्वको प्रचारप्रसार गर्ने सीटीईभीटीले जनाएको छ ।
आजको आवश्यकता उत्पादनमुखी प्राविधिक शिक्षा भएकोले बीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, धनुषा , पोखरा टेक्निकल स्कूल, र टीकापुर पोलिटेक्निकल इन्स्टिच्युट, कैलाली लगायतका ठाउँमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमको सम्बन्धमा सीटीईभीटीले जनचेतना अभिवृद्धि गर्न लागेको हो ।
सम्बन्धित उद्यमी र प्राविधिक तथा व्यावसायिक शिक्षा तालीमबीचको सम्बन्ध बलियो बनाउन सीप हुन्छ हातमा रोजगारी साथमा नाराका साथ जनसचेतना अभियानको शुभारम्भ गरेको हो ।
उक्त अभियान जनसचेतना अभियानमार्फत विद्यालयहरूमा विद्यार्थीलाई भविष्यका बारेमा मार्ग्निर्देशन, विभिन्न उद्योगमा विद्यार्थीहरूको अध्ययन भ्रमण, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेला, सामुदायिक अभियान र लक्षित समूहका युवा, उनीहरूका परिवारका सदस्य तथा अभिभावकलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमका लाभबारे सूचना प्रवाह गरिनेछ ।
यसै अभियानमार्फत विभिन्न गतिविधिका साथ तीन प्राविधिक शिक्षालय वरपरका क्षेत्रमा रहेका सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायमा पाइलटिङ गरिने समेत सीटीईभीटीले जनाएको छ ।
यो अभियान माघ २६ गते जनकपुर, माघ २९ गते पोखरा र फागुन ४ गते टिकापुरमा शुरू हुने भएको छ ।
प्रतिकृया दिनुहोस्