December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

नागढुंगा सुरुङमार्गमा ३२ महिनामा ३९ प्रतिशत मात्रै काम

नागढुंगा सुरुङमार्गमा ३२ महिनामा ३९ प्रतिशत मात्रै काम

नागढुंगा सुरुङमार्गमा ३२ महिनामा ३९ प्रतिशत मात्रै काम भएको छ । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । त्यसका कारण अहिले आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो । ४ कात्तिक २०७६ मा ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत मात्र सकिएको छ ।, लक्ष्यअनुसार काम हुने हो भने अबको १० महिना अर्थात् आगामी वैशाखभित्र आयोजना बनाइ सक्नुपर्ने हो । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोएिको समयमा पूरा नहुने अवस्था देखिइसकेको छ । मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ५६ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जनाएका छन् ।

Advertisement

उनका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये १ हजार ३७७ मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये १ हजार ५०७ मिटर सुरुङ खनिएको छ । वर्किङ अडिटको १२६ मिटर वर्किङ पासेजको १२८ मिटरमध्ये ६२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले ४३६ मिटर सुरुङमा कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको १८ प्रतिशत मात्रै हो । ३ वटा अन्डरपासमध्ये २ वटाको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

Advertisement

शाक्यका अनुसार फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरण पनि चलिरहेको छ । सडक खन्ने काम ७६ प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम ५१ प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ३१ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ४५.५० प्रतिशत रकम खर्चि सकेको छ । आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर निर्माण गरिंदैछ ।

सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि शुरु गर्ने योजना थियो । सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।