अर्को वर्ष हिउँदमा आयात गर्नु नपर्ने

विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निजीक्षेत्रका १४ वटा आयोजनाबाट १५८.६५ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको थियो । १५८ मेगावाटमध्ये ५ आयोजनाबाट ३९ मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत उत्पादन हुने प्रक्षेपण गरेका आयोजनाहरुमा २५ मेगावाटको काबेली बी १, २३.५ मेगावाटकोसोलुखोला, २२ मेगावाटको बागमती खोला, २१.६ मेगावाटको तल्लो हेवाखोला, २० मेगावाटको तल्लो मोदी लगायतका जलविद्युत आयोजना रहेका थिए।तर अहिलेसम्म ८.८० मेगावाटको रुडी खोला ए, २२ मेगावाटको बागमती खोला, ७.८ मेगावाटको सुपर माइ, ०.०९ मेगावाटको सोवुवाखोला २ साना जलविद्युत र ०.९६ मेगावाटको विष्णु प्रिया सोला गरी ५ आयोजनाबाट ३९.६५ मेगावाट मात्रै विद्युत उत्पादन भएको । अर्को वर्ष एक हजार दुई सय ७० मेगावाट विद्युत थपिएमा कुल जडित क्षमता दुई हजार तीन सय मेगावाट पुग्ने र हिउँदमा ४० प्रतिशत मात्र विद्युत उत्पादन हुँदापनि ९०० मेगावाट बढी विद्युत उत्पादन हुने भएकाले अर्को सुख्खायाममा धेरै विद्युत आयात गर्नु नपर्ने प्राधिकरणको विश्वास छ । नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ। अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो । प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ । त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपेको छ । अहिले पिक समयमा एक हजार एक सय ९५ मेगावाट विद्युत माग छ । नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग हुँदा पनि २०० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ । तर वर्षा सुरु भएसँगै विद्युत उत्पादन बढ्ने र रातको समयमा तत्कालै निर्यात गर्नुपर्ने भएको हो । जडित क्षमता धेरै भएपनि जलाशययुक्त आयोजना रातमा सञ्चालन हुँदैनन् । अर्धजलाशययुक्त आयोजना पनि रातमा सञ्चालनमा आउँदैनन ्। त्यसैले तत्काल वर्षायममा उत्पादन हुने विद्युत एक हजार मेगावाट हारहारी मात्रै हो । रातको समयमा विद्युत माग नौ सय मेगावाट हारहारी छ । अहिले नेपालले भारतबाट औसत ३०० मेगावाट विद्युत आयात गरिरहेको छ । साँझको एक घण्टा मात्रै साढे पाँच सय मेगावाट विद्युत आयात गरिरहेको छ । अन्य समयमा २०० मेगावाट मात्रै विद्युत आयात भइरहेको प्राधिकरणको दावी छ ।
प्रतिकृया दिनुहोस्