January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

पर्यटनमा वार्षिक दुई अर्बको लगानी

नेपामा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ । ठूला पर्यटन पूर्वाधामा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् । उद्योग विभागका अनुसार हालसम्म पर्यटमा आएको विदेशी लगानीमध्ये अधिकांश होटल रेस्टुँरामा छन् । पर्यटमा गत आवमा जम्मा २ अर्बको मात्रै विदशी लगानी आएका छन् । पर्यटनका ठूला पूर्वाधार, पाँचतारे होटल, विमानस्थल, हिमाली क्षेत्र, पर्यटनका सम्भावना देखिएका धेरैवटा गन्तव्यमा पर्यटक आकर्षण गर्न सकिएको छैन । उद्योग विभागमा पर्यटन उद्योगको रूपमा दर्ता भएका कूल ६१ वटा कम्पनीमध्ये २६ वटामा मात्रै चिनियाँ लगानीकर्ता रहेका छन् । ६१ वटा दर्ता भएका होटल तथा रेष्टुरेन्टको क्षेत्रमा ३७ वटामा सबै लगानी विदेशी रहेको छ भने १० वटामा विदेशी र स्वदेशी लगानी रहेको छ । विदेशी र स्वदेशी दुवैको संयुक्त लगानी भएको १० वटा होटलमा स्वदेशीहरुको सेयर भने निकै कम छ । विदेशी लगानी रहेको ४७ वटा होटल तथा रेष्टुरेन्टमा जम्माजम्मी दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । साना, मझौला र ठूला सबै उद्योगको रूपमा दर्ता भएका होटल तथा रेष्टुरेन्टमा ५० लाख रुपैयाँदेख करिव दुई अर्बसम्म लगानीको प्रतिवद्धता जनाइएको छ । सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनको तथ्यांकलाई हेर्ने हो भने पनि कूल ३४ खर्ब ६८ अर्बका योजनामा विदेशी लगानी खोजेको छ । यस मध्ये पर्यटन क्षेत्रमा ७२ अर्ब रुपैयाँ आकर्षित देखिन्छ । यसमा पनि नेपालको विकासको मुहार फेर्न सक्ने र दीर्घकालिन उपलब्धि हुन सक्ने योजनाको रूपमा अगाडि सारिएको ठूला पूर्वाधार मात्रै हो । यस्तो ठूला पूर्वाधार मध्येको सरकारले विदेशी लगानी खोजेको क्षेत्र हो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल । यो विमानस्थल बन्न सकेको खण्डमा नेपालको पर्यटनले विश्व बजारलाई चुनौति दिने गरी पर्यटकीय लाभ लिन सक्ने छ । यो आयोजना सरकारले वर्षोदेखि छनोट गरेर राखेको छ तर लगानी जुटाउन नसकेका कारण योजनालाई कागजमा सिमित मात्रै पारेको छ । बार्षिक रूपमा बजेट त विनियोजन गर्छ । तर अपेक्षा अनुसार त्यसको खर्च हुँदैन् । भएको बजेट खर्च गर्न नसक्ने समस्या अर्को चुनौति पनि हो । यस्ता पर्यटन उद्योग काठमाडौं, ललितपुर, काभ्रे नुवाकोट, नवलपरासी, बाँके, झापा लगायतका जिल्लामा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव एकहजार आठ सय सात जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । हालसम्म सरकारले हल्ला गरेको र विदेशी लगानी भित्र्याउने भनिएका विमानस्थल, वायुसेवा कम्पनी, ठूला होटल, साहसिक पर्यटन उद्योग छन् । तर हालसम्म पर्यटन क्षेत्र अन्तर्गका होटल रेस्टुराबाहेक अन्यमा विदेशी लगानी छैन । विकासको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र आर्थिक विकासको मूल खम्बा पनि हो । आर्थिक क्षेत्रको विकासमा पर्यटनको भूमिका उल्लेख्य रहेको भन्ने गरिन्छ । तर, कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिस्सा हेर्ने हो भने पर्यटनको योगदान निकै कम छ ।

Advertisement