नेपालमा अब १५ वर्ष पुराना जहाज भित्राउन नपाउने
११ फागुन, काठमाण्डौ ।
अब नेपालमा १५ वर्षभन्दा पुराना जहाज भित्राउन नपाइने भएको छ । दुर्घटना बढेको निष्कर्षसहित सम्भावित दुर्घटनाको जोखिम कम गर्ने उदेश्यले पर्यटन मन्त्रालयले नेपाल सरकार समक्ष हवाइ नीतिको मस्यौदा पेश गर्दैछ ।
सुरक्षा जोखिम देखाउँदै युरोपियन युनियनले नेपालको उड्ड्यन क्षेत्रलाई ६ वर्षअघि कालोसूचिमा राखेको थियो । जसका कारण नेपाली हवाइ सेवा प्रदायक कम्पनीले युरोपमा जहाज उडाउन पाएका छैनन् । ७४ वर्षे नेपाली हवाइ इतिहासमा ९५ दुर्घटनामा करिब ८ सय जनाको मृत्यु भएको तथ्यांक छ । यस पृष्ठभूमिमा पर्यटन मन्त्रालयले सस्तो मूल्यमा पुराना जहाज भित्र्याउने र यात्रुको सुरक्षामा खेलाँची गर्ने प्रवृत्ति बढेको निष्कर्षसहित १५ वर्ष पुराना जहाज भित्राउन नपाउने गरी हवाइ नीतिको मस्यौदा तयार पारेको छ ।
पूर्वपर्यटन सचिव यज्ञ गौतम संयोजक रहेको समितिले बनाएको मस्यौदामा यसअघि भित्रिइसकेका १५ वर्ष पुराना जहाजका हकमा वर्षमा एक पटक उडान योग्यता परीक्षण गराउन सुझाव दिएको छ । हवाइ सेवा प्रदायक कम्पनीमा थोरै जहाज हुँदा मर्मत सम्भारमा बेवास्ता गरी जबर्जस्ती उडाउने गरिएको र त्यसले सुरक्षा जोखिम बढेको समितिको निष्कर्ष छ ।
समितिको प्रस्तावलाई पर्यटन मन्त्रालय हुँदै मन्त्रिपरिषदले स्वीकृत गरे हवाइ सेवा प्रदायक कम्पनीसँग कम्तीमा ३ वटा जहाज हुनुपर्नेछ । कम्पनीको चुक्ता र संचालन पुँजीको न्यूनतम सीमा समेत तोकिएको छ । आन्तरिकतर्फ उडान गर्ने कम्पनीका लागि २५ करोड चुक्तापुँजी र ५० करोड सञ्चालन पुँजी तथा अन्तराष्ट्रियतर्फ उडान गर्न ५० करोड चुक्ता पुँजी र २ अर्ब सञ्चालन पुँजी प्रस्ताव गरिएको छ । यसले गैरव्यावसायिक गतिविधि निरुत्साहित भइ हवाइ सुरक्षामा सहयोग पुग्ने विश्वास छ । मस्यौदाबाट हवाइ भाडामा सिण्डिकेट खडा हुने गरी सरकारले नै न्यूनतम भाडा तोक्ने व्यवस्था भने हटाइएको छ ।
प्रतिकृया दिनुहोस्