May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ट्याक्सी भाडा वृद्धि गर्ने सरकारको तयारी

२९ फागुन, काठमाडौं ।
नेपाल सरकारले वैशाख सम्ममा टयाक्सीको भाडादर बृद्धी गर्ने तयारी गरीरहेको छ । बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र ट्याक्सी चालकबीच भएको छलफलमा टयाक्सी भाडा बृद्धी गर्ने सरकारले आश्वासन दिएको हो ।
यातायातमन्त्री वसन्त नेम्वाङको उपस्थितिमा भएको छलफलमा व्यवसायीले भाडाका यात्रु बोक्ने निजी सवारीलाई नियमन गर्न र भाडा वृद्धि गर्न माग गरेका थिए । व्यवसायीको कुरा लाई साची राख्दै यातायातमन्त्री नेम्वाङले व्यवसायीको भाडा वृद्धी गर्ने आश्वासन दिएका हुन् ।
यसअघि, उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र उपत्यका टयाक्सी विशेष समितिले मंगलवार यातायात व्यवस्था विभागमा भाडा समायोजन लगायत ६ बुँदे संयुक्त माग पेश गरेका थिए । टुटल र पठाओबाट यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्नुपर्ने र ट्याक्सी भाडा समायोजन गर्नुपर्ने उनीहरूको माग थियो ।
मन्त्रालयले टुटल र पठाओजस्ता निजी सवारीमा भाडाका यात्रु बोक्ने सवारीलाई नियमन गर्ने भएको छ । ट्याक्सी चालकहरूले निजी प्रयोजनका गाडीले भाडामा यात्रु ओसार्न नपाउने माग राखेकै दिन विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार एक प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अर्को प्रयोजनमा प्रयोग गर्नु गैरकानूनी भएको सूचना सार्वजनिक गरेको थियो ।
नेपालमा २०७३ मा टुटलले राइड शेयरिङ सेवा स्थापना भएको थियो । त्यसपछि २०७४ मा बंगलादेशी कम्पनी पठाओले पनि नेपालमा यस्तै सेवा विस्तार गरेको थियो ।
ट्याक्सी चालकले गतवर्ष पुस अन्तिम साता विभागमा टुटल र पठाओ गैर–कानुनी सेवा भएको भन्दै बन्द गर्न उजुरी दिएका थिए । त्यसको १ सातामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चारजना टुटल र पठाओ चालकलाई समातेर कारबाहीसमेत गरेको थियो । तर, व्यापक आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाएर नियमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका थिए ।
आर्थिक अभियानबाट ।

Advertisement