कालोबजारीमा अनुसन्धान टोली खटाइयो,कालोबजारी गरे १ वर्ष कैद र १० लाखसम्म जरिवाना
फागुन ३०, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको त्राससँगै देशका महत्वपूर्ण सहरमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम बढेकोले उपत्यकामा अनुसन्धान टोली खटाइएको छ । बजारमा मौलाउँदै गएको कालोबजारीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली खटाएको हो ।
केही ठूला व्यापारीको मिलेमतोमा कोरोना संक्रमणको त्रासमा रहेका उपभोक्ताहरुलाई विभिन्न सामान चर्काे मुल्यमा बिक्रि तथा वितरण गरि कालोबजारी भएको देखिएकाले कालोबजारी गर्नेविरुद्ध सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।
हाल जिल्ला प्रशासन कार्यालयले वाणिज्य विभागसहितको टोली बनाएर बजार अनुगमन गरिरहेको छ । अनुगमनबाट कालोबजारी गर्नेको पहिचान गर्ने र कानुनी दायरामा ल्याई कालोबजार ऐनअन्तर्गत कारबाही गर्ने उनको भनाई रहेको छ ।
अनुगमन टोलीले बजार अनुगमनका क्रममा साना तथा ठूला व्यापारी लक्षित अनुसन्धान थालेको छ । बजारमा साना व्यापारीले लिएको नाफालाई केलाउँदै जाँदा ठूला व्यापारीसँग पनि कनेक्सन जोडिएकाले ठूला व्यापारीप्रति अनुसन्धान थालिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले कालोबजारी गर्ने ठूला व्यापारीको सूची बनाइरहेको र एकैपटक कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत कारबाही गर्ने योजना बनाएको छ ।
ऐनमा कालोबजारी गर्ने विरुद्ध १ वर्ष कैद र सरकारले अत्यावश्यक वस्तु भनेर तोकेकामा मुद्दाको प्रकृति हेरेर १० लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान रहेको छ ।
प्रतिकृया दिनुहोस्