May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ग्यासको कृतिम अभावः विभाग बन्यो मुक दर्शक

ग्यासको कृतिम अभावः विभाग बन्यो मुक दर्शक

०१ चैत, काठमाडौं ।
ग्यासको कृतिम अभाव सृजना गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने भनेपनि बजारमा ग्यासको हाहाकार नै मच्चिएको छ । समानुपातिक रुपमा ग्यासको वितरण गर्न नसक्दा बजारमा ग्यासको हाहाकार भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको मौका पारेर व्यापारीले ग्यासको कृतिम अभाव सृजना गरेको पाइए कारबाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशन नेत्रप्रसाद सुवेदीले बताइ रहँदा बजारमा ग्यासको अभाव भने उस्तै छ । विभाग पत्रकार सम्मेलन गरेर ग्यासको कृतिम अभाव गराए कारवाही गर्ने भन्दै कोठे बैंठकमा तल्लिन छ सरकार ।
विभागमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक सुवेदीले ग्यासमा कालोबजारी गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिए । बजारमा ग्यासको अभाव सृजना हुन थालेको गुनासो आउने गरेको भन्दै उनले उपभोक्ताको गुनासो लगत्तै ग्यास डिपो तथा पसलहरुमा अनुगमनको कामलाई तीब्रता दिइएको जानकारी दिए । उनले यति भनिरहँदा बजारमा ग्यासको भने अभाव टर्ने कुनै संकेत नै छैन ।

सरकारले बजार अनुगमनलाई तीब्रता दिएको दाबी गरेपनि उपभोक्ताले भने सहज रुपमा उपभोग्य वस्तु पाउन सकेका छैनन् । नेपाल ग्यास लिमिटेडले धेरै ग्राहक बनाएकाले माग अनुसार वितरण गर्न नसक्दा केही समस्या भएको भन्दै उनले बजारमा ग्यासको अभाव भने नभएको दाबी गरे ।
नाकाबाट समयमै ढुवानी हुन नसक्दा ग्यासको समस्या देखिएको भन्दै उनले सीमाबाट ग्यास बुलेटको संख्या थप गर्न लगाएको जानकारी दिए । अबको एक दुई दिन नेपालको ग्यासको समस्या पनि समाधान हुने उनले बताएका छन् । उपभोक्ताहरुले पनि हल्लाको भरमा ग्यास लगायत उपभोग्य वस्तुको भण्डारण गर्ने गरेकोले समस्या देखिएको उनले बताएका छन् ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला विभागका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो।
विभागका महानिर्देशक सुवेदीले बजार अनुगमन नियमित भईरहेको भन्दै उपभोक्ताले आत्तिनु पर्ने अवस्था नभएको बताइरँहदा उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा रहेको समस्या भने ज्यूँ का त्यूँ नै छ ।
सरकारले बजार अनुगमनलाई तीब्रता दिएको दाबी गरेपनि ग्यास, खाद्यन्नलगायत दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयका सम्बन्धमा र यो संकटको घडीमा तत्काल सम्बन्धित निकायले ध्यानाकर्षण गर्दै प्रभावकारी कदम चाल्नु जरुरी देखिएको छ ।

Advertisement