January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सगरमाथा आरोहण स्थगित हुदाँ गुम्ने भयो ६० करोड रुपैंया राजश्व

सगरमाथा आरोहण स्थगित हुदाँ गुम्ने भयो ६० करोड रुपैंया राजश्व

२ चैंत, काठमाडौं

Advertisement

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सगरमाथा आरोहणमा रोक लगाएको छ ।  आगामी अप्रिल ३० सम्मका लागि सर्वोच्च शिखर आरोहण स्थगित गरिएको हो । कोरोना भाइरस डिजिजको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुग्ने भएको छ । यसले वार्षिक झण्डै ६० करोड रुपैंया राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५० करोड रुपैंया नोक्सानी हुने देखिन्छ ।

Advertisement

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख रुपैंया सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै ४४ करोड २३ लाख रुपैंया राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो

विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट ५६ करोड रुपैंया राजश्व उठेको थियो । यस वर्ष ६० करोड रुपैंया सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार रुपैंया, शरद् ऋतुमा ३७ हजार ५०० रुपैंया र गर्मी याममा १८ हजार २५० रुपैंया सलामी तिर्नुपर्ने व्यवस्था छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ ।

कोरोना भाइरसले विश्वबजारमा ठूलै प्रभाव पारेको छ । कोरोना भाइरसको संक्रमण रोक्न विश्वका विभिन्न राष्ट्रले विद्यालय, खेलकुद, साँस्कृतिक महोत्सव, पर्यटन मेला, यात्रा बन्द गरेका छन् । यसले यता चीनमा कोरोना भाइरसको नयाँ संक्रमण नदेखिए पनि चिनियाँ जनजीवन सामान्य अवस्थामा फर्केको छैन । उत्पादनका काम अझै शुरु हुन सकेका छैनन् । विश्वको यो परिदृश्यले कोरोना भाइरसको प्रभाव गहिरो बन्दै गएको देखिन्छ । अर्थतन्त्र मात्र होइन मानवसम्बन्ध र विज्ञानप्रविधिको विकास पनि प्रभावित भएको छ ।