कोरोना उपचारको लागि खोलिएको अस्थायी (विशेष) अस्पताल मा काम गर्ने सबैलाई शतप्रतिशत भत्ता
०६ चैत, काठमाडौं ।
भरतपुर महानगरपालिकाको सक्रियतामा बनेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट हुन सक्ने संक्रमितको उपचारमा संलग्न हुनका लागि संघीय सरकारले उपचारमा संलग्नलाई दिने ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने पहिले नै घोषणा गरिसकेको छ ।
बुधबार महानगर प्रमुख रेनु दाहाल सहित बसेको कार्यदलको बैठकले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा भरतपुर महानगरपालिकाले २५ प्रतिशत थप गरी शतप्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
अस्थायी अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने तथा हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति मगाइने नगर प्रमुख दाहालको भनाई रहेको छ ।
चितवन उद्योग संघ भरतपुरको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाइएको छ ।
जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ ।
कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिनेछ ।
भरतपुर महानगरपालिकाको विशेष पहलमा चितवनका उद्योगी, व्यापारी, नागरिक अगुवा, बौद्धिक समुह, चिकित्सकहरु, सुरक्षा निकायले अस्पताल निर्माणमा योगदान गरेका छन् ।
प्रतिकृया दिनुहोस्