फोन गर्दा जाने घन्टीको सट्टामा कोरोना भाइरसको सन्देशमूलक जानकारी दिदैँ नेपाल टेलिकम
६ चैत, काठमाडौं ।
नेपाल टेलिकमले टेलिकमको नम्बरमा फोन गर्दा जाने घन्टीको सट्टामा कोरोना भाइरसको सन्देशमूलक जानकारी राखेको छ । नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (काेभिड–१९) रोकथामको सन्देश बजाउन थालेको हो ।
टेलिकमले पटक पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न ,भिडभाडमा नजान तथा बाहिर निस्कनु परेमा माक्सको प्रयोग गर्नुपर्ने सन्देशलाई रिंगब्याक टोनमा राखेको छ । यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले विश्वास रहेको छ ।
टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत् कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ बारे जानकारीमूलक सन्देश राखेको जनाएको छ ।
सो जानकारी मोबाइलमार्फत् ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था समेत गरेको जनाएको छ ।
उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षण, फैलने तरिका, उपचार विधि, देखि संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरूका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले गत असार महिनादेखि नै ‘एनटी सूचनाको संसार’सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ ।
नेपाललगायत दक्षिणपूर्वी मुलुकलाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै टेलिकमले पनि सर्वसाधारणलाई जानकारी दिन टेलिकमको नम्बरमा फोन गर्दा जाने घन्टीको सट्टामा कोरोना भाइरसको सन्देशमूलक जानकारी राखेको हो ।
सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ ।
प्रतिकृया दिनुहोस्