महेश घिमिरे
गाउँको चौतारोमा बिहानैदेखि असाध्यै रमाइलो दृश्य देखियो। एउटा ठूलो कार्डबोर्डमा रातो अक्षरले लेखिएको थियो—“उम्मेदवार बिक्रीमा”। तल सानो अक्षरमा थपिएको थियो—“अलिकति प्रयोग भएको, तर अझै भाषण दिन सक्षम।”
गाउँलेहरू अचम्म मान्दै त्यहीँ भेला हुन थाले। कसैले सोध्यो,-“ए यो के हो र ?”
त्यसको छेउमा कुर्सीमा लजाउँदै बसेका थिए—चुनावमा हारेका उम्मेदवार, हरिराम अधिकारी। एक समय गाउँभरि झन्डा, ब्यानर र माइक बजाउँदै हिँड्ने हरिराम अहिले आफैंलाई बिक्रीमा राखेर बसिरहेका थिए।
गाउँका बूढा बिर्खे बाजे हाँस्दै सोधे,- “हरिराम, तिमी घर बेच्न लागेको सुनेको थिएँ, अब आफैं बेचिन थालेछौ?”
हरिरामले लामो सास फेरे।
“के गर्नु बाजे, चुनाव जित्ने सपनामा घरबार नै सकियो। घर बेच्न राखेँ, कसैले किन्न आएन। अब घर नभएपछि सोचें—उम्मेदवारै बेचौँ कि क्या हो!”
चुनावअघि हरिराम निकै ठूला–ठूला वाचा गर्थे।
“गाउँमा पाँच वर्षमा पिच सडक बनाउँछु!”
“हरेक घरमा रोजगारी ल्याउँछु!”
“गाउँलाई सिंगापुर बनाउँछु!”
तर चुनावको नतिजा आयो—हरिरामको जमानत नै जफत भयो। गाउँलेहरूले तिरस्कार गरेपछि उनी यता–उता लुकेर बस्न थाले। तर ऋणको चिठ्ठीले घर ढकढक्याउन थालेपछि आज यो अनौठो व्यापार सुरु गरेका थिए।
चौतारोमा झुण्डिएका बोर्डमा अर्को पनि लेखिएको थियो—
“विशेषता :
– भाषण दिन अत्यन्त दक्ष
– चुनाव आउँदा धेरै सक्रिय
– जितेपछि पाँच वर्ष हराउने ग्यारेन्टी”
यो पढेर गाउँका युवाहरू हाँस्दै लोटपोट भए ।
त्यही बेला एक जना व्यापारी टाइपका मान्छे आए। उनले बोर्ड पढे अनि सोधे,
“कति पर्छ यो उम्मेदवार ?”
हरिराम तुरुन्त उठे।
“तपाईंलाई कस्तो चाहियो? सामान्य उम्मेदवार, आन्दोलन गर्ने उम्मेदवार, कि दल बदल्ने स्पेशल प्याकेज?”
व्यापारीले हाँस्दै भने,
“दल बदल्ने पनि हुन्छ ?”
हरिराम गर्वले बोले,
“त्यो त हाम्रो मुख्य सीप हो! जुन पार्टी बलियो हुन्छ, त्यतै जाने सुविधा छ।”
गाउँका शिक्षक कृष्ण सर पनि त्यहीँ पुगे।
“हरिराम, उम्मेदवार बेचेर के फाइदा हुन्छ र ?”
हरिरामले गम्भीर हुँदै भने,
“कम्तीमा कसैले उपयोग त गर्छ। जनताले त काम नलाग्ने भनेर फ्याँकिदिए।”
त्यसपछि एक जना किसानले मजाक गर्दै भने,-“मलाई त खेतमा बाली तर्साउने पुत्ला चाहिएको छ। यो उम्मेदवार त्यहाँ राखेँ भने चराहरू पनि भाग्छन् कि?”
सबै हाँस्न थाले।
अन्त्यमा एउटा सानो केटो अघि आयो।
“काका, तपाईंलाई किन बेच्नुपर्यो ?”
हरिराम केही क्षण चुप लागे।
“किनकि बाबु, चुनाव जित्ने सपना देख्दा मैले जनताको विश्वास होइन, पैसा खर्च गरेर जित्छु भन्ने सोचेँ।”
केटोले सिधा जवाफ दियो,- “त्यो त गलत रहेछ नि।”
चौतारोमा एकछिन सन्नाटा छायो। त्यसपछि बिर्खे बाजेले ठट्टा गर्दै भने,- “ल हरिराम, बेचिन त गाह्रो देखियो। बरु अर्को चुनावसम्म गाउँमै काम गर। सायद त्यसपछि जनताले ‘किन्ने’ होइन, ‘जिताउने’ पो हो कि!”
गाउँलेहरू फेरि हाँस्न थाले। हरिराम पनि मुस्कुराए। बोर्डमा लेखिएको “उम्मेदवार बिक्रीमा” हेरेर उनले मनमनै भने-“शायद अब मलाई बेचिन होइन, काम गरेर आफूलाई साबित गर्नुपर्छ।”


