प्रेमी मानब सुवदीसँग लगनगाँठो कसिन नायिका सुरक्षा पन्तले
अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बिहीबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।
करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । त्यस्तै, इन्जिनियरिङको अध्ययन गरेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् । उनको दुई नयाँ फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । यतिबेला सुरक्षा ‘द पोयट आइडल’को निर्णायकमा छिन् ।
सुरक्षाका श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् । फिल्म ‘अन्तराल’बाट अभिनय करिअरको सुरुवात गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज पनि दिएका छन् ।
प्रतिकृया दिनुहोस्