Banijya News

साहाराका सञ्चालक दम्पती बचतकर्ताका करोडौं रकम उठाएर सम्पर्कविहीन

1
1.1K Shares

 

हेटौंडा–२, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती बचतकर्ताका करोडौं रकम उठाएर सम्पर्कविहीन भएका छन् । उनीहरु हेटौंडा–८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् ।

वि.स. २०५८ सालदेखि उनीहरुले नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् ।

कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ ।

साहारामा ६ सय जना जतिको बचत रहेछ । सहाराले ऋण प्रवाह नगर्ने र बचत रकम संकलन मात्रै गर्ने बताएकाले पैसा जम्मा गरेको पिडीतहरुले बताए ।

हेटौंडा उपमहानगरपालिका कार्यालयले साहारा किस्ताबन्दी कार्यक्रम संस्थामा नगर क्षेत्रका स्थानीयले २० लाखदेखि ५० हजार रुपैयाँसम्म बचत गरेको खुलेको जनाएको छ ।

बचतकर्ताहरुले दिएको जानकारीअनुसार एक करोडभन्दा माथि रकम हिनामिना भएको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

६ सय जनाको धेरथोर गर्दा पनि एक करोडमाथि बचत हुन आउने देखिन्छ । त्यो बचत रकम ४–५ करोड पनि पुग्न सक्छ । ठ्याक्कै यति रकम जोखिममा रहेको भनेर खुलिसकेको छैन,’ पौडेलले भने ।

पौडेलले सहारा किस्ताबन्दी कार्यक्रममा सुरुवातमा गैरसरकारी संस्थाको रुपमा खुलेको र पछिल्ला वर्षमा बचतलगायतका कार्य गर्न थालेको हुन सक्ने सोधपुछबाट खुलेको जनाए । सहारा किस्ताबन्दी कार्यक्रमले पछिल्ला वर्ष बचतकर्ताको रकम संकलन गर्ने र घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको थियो ।

 

1

Scroll to Top