वाणिज्य बैंकहरूको स्वामित्वमा रहेको गैरबैंकिङ सम्पत्ति एक वर्षको अवधिमा ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। ऋणीले कर्जा चुक्ता गर्न नसक्दा तथा धितोमा राखिएका सम्पत्ति बिक्री हुन नसक्दा बैंकहरूको स्वामित्वमा यस्तो सम्पत्ति थुप्रिने क्रम बढेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मध्यसम्ममा २० वाणिज्य बैंकको कुल गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। यसअनुसार एक वर्षमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ७९ करोड रुपैयाँले बढेको छ।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १४ वटाको गैरबैंकिङ सम्पत्ति बढेको छ भने पाँचवटाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको तथ्यांक भने उपलब्ध छैन। अधिकांश बैंकको गैरबैंकिङ सम्पत्ति बढ्नुले कर्जा असुली तथा धितो बिक्रीसँग सम्बन्धित चुनौती कायम रहेको देखाउँछ।
ऋणीले बैंकबाट लिएको कर्जा निर्धारित समयमा चुक्ता गर्न नसकेमा बैंकले कर्जा असुलीका लागि धितोमा राखिएको जग्गा, घर तथा अन्य सम्पत्ति लिलाम गर्छन्। तर, लिलाम प्रक्रियाबाट त्यस्ता सम्पत्ति बिक्री हुन नसकेमा बैंकले नै तिनको स्वामित्व लिनुपर्ने अवस्था आउन सक्छ। यसरी बैंकको स्वामित्वमा आएका जग्गा, भवनलगायतका सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकसँग रहेको छ। समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति ९.७४ प्रतिशतले बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रकमले वृद्धि भएको हो।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को गैरबैंकिङ सम्पत्ति पनि तीव्र गतिमा बढेको छ। बैंकको यस्तो सम्पत्ति ५३.४३ प्रतिशतले वृद्धि भई भदौ मध्यसम्ममा पाँच अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ। प्रतिशतका आधारमा गैरबैंकिङ सम्पत्ति वृद्धि हुने बैंकमध्ये एनआईएमबी अगाडि देखिएको छ।
ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्तिमा भने केही सुधार देखिएको छ। बैंकको यस्तो सम्पत्ति ६.७५ प्रतिशतले घटेर पाँच अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति २२.४५ प्रतिशतले बढेर चार अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति भने ८.७२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको तुलनामा कमी आएपछि समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति चार अर्ब १२ करोड रुपैयाँ कायम भएको छ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग रहेको छ। बैंकको यस्तो सम्पत्ति २.९७ प्रतिशतले घटेर २७ करोड ७३ लाख रुपैयाँमा झरेको छ।


