January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोनाको अफवाह फैल्याउने विवेक थापा ‘झोर्ले डट कम’ का सम्पादक भएको खुलासा

कोरोनाको अफवाह फैल्याउने विवेक थापा ‘झोर्ले डट कम’ का सम्पादक भएको खुलासा

चैत ०८, काठमाडौं ।

Advertisement

कोरोना भाइरसको संक्रमणबारे अफवाहपूर्ण अडियो भाइरल बनाउने विवेक थापा मगर झोर्ले न्युज डट कमका सम्पादक रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले २१ वर्षीय मगरलाई शनिबार पक्राउ गरेको छ। ती युवाले www.jhorle.com नामको अनलाइन सञ्चालन गर्दै आएको खुलेको छ।

Advertisement

उनको वेबसाइट सूचना विभाग वा अन्य कहिँ दर्ता भने भएको छैन। आफूले पाएको सूचनाकै आधारमा अडियो रेकर्ड गरेर सबैलाई पठाएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।

भक्तपुरको सिपाडोलबाट उनलाई नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

मुलुकी अपराध संहिताअनुसार अफवाह फैल्याउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।

भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी नभएको स्पष्ट पारेका थिए।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन्। तर, सामाजिक सञ्जालमा भने काठमाडौंको एक अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै अफवाह फैलाइएको छ।