May 15, 2025, Thursday
२०८२ जेष्ठ २

‘लक–डाउन’ले छोएन इँटाभट्टालाई, मजदुर जोखिममा

‘लक–डाउन’ले छोएन इँटाभट्टालाई, मजदुर जोखिममा

१३ चैत्र २०७६

Advertisement

श्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएपछि सरकारले विगत ३ दिनदेखि १८ गतेसम्मका लागि देशभर लक–डाउन गरेको छ ।

Advertisement

लक–डाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लक–डाउनको कुनै असर परेको छैन ।

नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ । 

भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करीब २० हजार मजदुरको दैनिकी भने उस्तै छ । 

चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेंसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उनलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उनलाई सरकारले गरेको लक–डाउनबारे थाहा छैन । उनी भन्छिन्, ‘खै बाहिर सरकारले बन्द गर्‍या छरे भन्छन्, यता त बन्द छैन, हामी सधैं काम गरिरहेका छौं, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।’

ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताउँछन् ।

‘शुक्रवार बजार जाने गर्‍याथ्यौं, अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ,’ उनले भने ।

इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भएपनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना संक्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताए । इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरू कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनको भनाइ थियो । 

‘भक्तपुरका इँटाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैं हुन्छ, भट्टी पसलमा सधैं बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ,’ नगर प्रमुख मिश्रले भने, ‘इँटाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसकें, अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकें, भक्तपुरका सिडिओलाई पनि पटक–पटक भनिसकें कसैले चासै दिँदैनन् ।’

यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताए । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले ८ दिनदेखि नयाँ इँटा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँटाभट्टा बन्द गर्ने तयारी गरेको बताए । 

उनले भने, ‘सिडिओले मजदुरलाई घर पठाउन पास बनाइदिने भन्नुभएको, इँटाभट्टा बन्द गर्ने निर्णयमा पुग्यौं, अहिलेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयलाई नमान्ने कुरा भएन, अब १० दिनभित्र इँटा पोल्न बन्द गर्छौं ।’

उनीहरू घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उनले अहिले बनाइसकेको इँटा व्यवस्थापनमा लागेको जानकारी दिए । जेठ २० गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताए ।
इँटाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ । – रमेश गिरी/रासस