May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

मृत्युदरमा संसारलाई पछि पार्दै अमेरिकाः २० हजार बढीको मृत्यु, सवापॉच लाख संक्रमित

मृत्युदरमा संसारलाई पछि पार्दै  अमेरिकाः २० हजार बढीको मृत्यु, सवापॉच लाख संक्रमित

गणेश थापा, क्यालिफोर्निया। १२ अप्रिल

Advertisement

विश्वको सुपरपावर अमेरिका आजबाट संसारलाई पछि पार्दै अघि लागेको छ । स्थानीय समय अनुसार शनिबार दिउँसो १ बजे (नेपाली समय शनिबार रातीको २ बजे) सम्मको प्राप्त रेकर्ड अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा २० हजार २ सय २६ जनाको मृत्यु भएको छ । करीव सॉढे १९ हजार मानिसको ज्यान गइसकेको इटालीलाई उछिन्दै अमेरिका अघिबढेको हो। अहिलेसम्म ५ लाख २६ हजार मानिस (विश्वमै संक्रमित कूल संख्याको सवै भन्दा बढी करीव ३० प्रतिशत मानिस) संक्रमित भएका छन् ।

Advertisement

हिजो मात्रै २४ घण्टाको अवधिमा कोभिड-१९ को संक्रमणका कारण २१०० बढी व्यक्तिले ज्यान गुमाएका थिए भने करीव ३६ हजार नयॉ संक्रमित बिरामी थपिएका थिए । यो समाचार तयार गर्दैगर्दा वितेको १२ घण्टामा अमेरिकाभरी १४ सय बढीको मृत्यु भएको छ । सान फ्रान्सिस्को क्रोनिकल मिडियाका अनुसार न्यूयोर्कमा सवैभन्दा बढी ८६७२ जनाको मृत्यु भएको छ । यता क्यालिफोर्नियामा पनि मृतको संख्या ५९५ पुगेको छ भने २१ हजार बढीमा संक्रमण देखिएको छ । ४ दिनयता कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा दिनहुँजसो २ हजारको हाराहारीमा मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण असामान्य बन्दै गएको छ। कोरोना संक्रमितको उपचारमा संलग्न एकजना विशेषज्ञ चिकित्सक डा. डेबोरा बक्रसले अमेरिका चरम संकटमा पुग्न बॉकी नै रहेको बताएका छन् । यस बीचमा ६ जना नेपालीको मृत्यु भएको छ भने कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या सयौं हुनसक्ने यहाँका सामाजिक संघ संस्थाहरूले जनाएका छन् । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट करीव २ करोड जनसंख्या रहेको न्युयोर्कमा मात्रै १ लाख ८१ हज़ार मानिस संक्रमित भएका छन् । सो ठॉउमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएका छन् । यता ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्- ‘कोरोना संक्रमणबाट अमेरिकामा मृतकको संख्या सुरूमा अनुमान गरेको १ लाख भन्दा कम हुनेछ ।’ अमेरिकाले ६ महिनासम्म कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रणमा नआउने अनुमान गरेको छ । यस महामारीका कारण यहॉ सन २००८ भन्दा पनि ठूलो आर्थिक मन्दी हुनसक्ने औंलाइएको छ। केही सरकारी कार्यालय, स्कूल, कलेज, प्राइभेट कम्पनी, व्यापारिक हब, सार्वजनिकस्थल लगायत बन्द रहेपनि अमेरिका पूर्णरूपमा लकडाउन गरिएको छैन् ।

राष्ट्रपति ट्रम्पले समेत अमेरिका बन्द हुनका लागि नबनेको भन्ने खालका भनाइ अभिव्यक्त गर्दै आएका छन्। यधपी सरकारी अधिकारीहरूले भने देशमा असामान्य परिस्थिति उत्पन्न भएको बताउँदै आएका छन् । कोभिड-१९ को इपिसेन्टर बनेको न्युयोर्कका गभर्नर एन्ड्रु कोमोले यसअघि कोरोना भाइरस बुलेट ट्रेन भन्दापनि तीब्रगतिमा फैलिरहेकोले आवश्यक अौषधी र उपचारमा चाहिने सामाग्रीको आपूर्तिका लागि अपिल गर्दै संघीय सरकारको व्वस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि अमेरिकाको इतिहासमै सवैभन्दा ठूलो करीव २० खर्ब बराबरको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ ।

संसदबाट पारित विधेकमा वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी हुने प्रत्येक वयस्क मानिसले १२ सय डलर आपतकालिन राहत स्वरूप पाउने बताइएको छ। वैध अवैध सवैखाले गरी करीव ३५ करोड मानिसको बसोबास अनुमान गरिएको अमेरिकामा कोरोना भइरसको बढ्दो संक्रमण तथा मृत्यु दरलाई लिएर विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघले समेत चिन्ता व्यक्त गर्दै आएका छन् । सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ ।