अनलाइन सट्टेबाजीमा २४ वर्षीय युवा पक्राउ, २ अर्ब १ करोड बढीको कारोबार
प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन् ।
ढुंगानाले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढुंगानाले विभिन्न व्यक्तिको नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको खुलेको छ ।
उनले आफ्नो परिचय परिवर्तन गरी अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ढुंगाना हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्