आज समाजिक सुरक्षा कोषमा सामेल हुने अन्तिम दिन, सामेल नहुने कारवाहीमा पर्ने
३० असोज, काठमाडौं । गत मङ्सिरमा सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता कम्पनी र श्रमिकहरूका लागि खुला गरिएको थियो । समयमै कम्पनीहरू सूचीकरण हुन नआएपछि दोस्रो पटक म्याद थप गरियो । सो म्याद यही असोज मसान्तमा सकिँदैछ । सूचीकृत हुने समय यही असोज मसान्त सकिनै लाग्दा ५ हजार ६ सय २२ रोजगारदाता कम्पनी र ८४ हजार ७ सय ८७ श्रमिक सहभागी भएका छन् । सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ । सूचीकृत हुने समयसीमा सकिनै लाग्दा समयमै सूचीकृत नहुने कम्पनीलाई कारबाही गरिने सामाजिक सुरक्षा कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजनामा सहभागी नहुने कम्पनीलाई कानुन बमोजिम कारबाही गरिने कोषले जनाएको छ । समयमै सूचीकृत नभएका प्रतिष्ठान वा रोजगारदातालाई कर तिर्दा, नवीकरण गर्दा वा अन्य विभिन्न कानुनी प्रक्रिया पूरा गर्न रोक्का गरी सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा सूचीकृत भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाइने तयारी सरकारको छ । सामाजिक सुरक्षा योजनामा निवृत्तिभरण सुविधा, व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटना, आश्रित परिवारको निवृत्तिभरण तथा सन्ततीवृत्ति, स्थायी पूर्ण असक्षमता बापतको निवृत्तिभरण लगायतको सुविधा प्राप्त गर्छन् । कोषमा आबद्ध श्रमिकहरू अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा वार्षिक रूपमा एक लाख रूपैयाँमा नबढ्ने गरी निज भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुनेछ ।
योजनामा आबद्ध हुनका लागि श्रमिकहरूको योगदानबाट मासिक रूपमा केही रकम कोषमा जम्मा गर्नुपर्छ । श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक ११ प्रतिशत कट्टा गरी त्यसमा रोजगारदाताले २० प्रतिशत थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । काम गरिरहेको एउटा संस्था छोडेर अर्को संस्थामा गएको अवस्थामा श्रमिकको सामाजिक सुरक्षा नम्बर पहिलेकै कायम रहनेगरी योगदान रकम जम्मा गर्ने साथै रोजगारीमा नरहेको अवस्थामा पनि निजले चाहे नियमित रूपमा योगदान जम्मा गरी सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्