Banijya News

बढ्न थाल्यो भन्सार संकलन

1
1.1K Shares

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । बैंकहरुमा कर्जाको माग बिस्तारै बढ्न थालेपछि त्यसको असर आयात व्यापारमा देखिएको हो । जसका कारण भन्सार राजश्व संकलन दर पनि बढ्न थालेको छ ।

अघिल्लो वर्षको तुलनामा साउन र भदौ (भदौ १८ गतेसम्म)मा भन्सार संकलन दरमा सुधारको संकेत देखिएको हो । मुलुकले आर्थिक वर्षभरि उठाउने कुल भन्सार राजश्वमध्ये ४० प्रतिशतको योगदान गर्ने वीरगञ्ज भन्सारको तथ्यांकले यस्तो देखाएको हो ।

वीरगञ्ज भन्सारका प्रमुख डिलाराम पन्थीकाअनुसार गत आर्थिक वर्षको असोजदेखि फागुनसम्मको भन्सार संकलन दर चौपट बनेको थियो । यो अवस्थासँग दाजेर हेर्दा वीरगञ्ज भन्सारको साउन र भदौंको राजश्व संकलन दर सन्तोषजनक रहेको छ ।

गत आर्थिक वर्षको वीरगञ्ज भन्सारले लक्ष्यको ६०.२ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको ७६ प्रतिशतमाथि भन्सार उठेको छ ।

पन्थीकाअनुसार भदौ १८ गतेसम्ममा ८ अर्बभन्दा बढीको भन्सार राजश्व संकलन भइसकेको छ । यही ट्रेण्ड महिनाको अन्तिमसम्म कायम रहेमा लक्ष्यको ७० प्रतिशतभन्दा बढी नै राजश्व संकलन हुने देखिन्छ ।

साउन महिनामा १५ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य रहेकोमा १२ अर्ब हाराहारीमा उठ्यो । भदौमा १९ अर्बको लक्ष्य रहेकोमा भदौ अन्तिमसम्म १४ अर्ब हाराहारी पुग्ने देखिएको छ ।

‘चाडपर्वको मौसम सुरु भएकोले समेत भन्सार संकलन दरमा प्रगति हुन थालेको देखिएको छ ।’ पन्थीले भने–‘भन्सार राजश्व संकलन दर उल्लेख्य बढिहालेको होइन, तर सकारात्मक सुरुवात भएको चाहिँ मान्न सकिन्छ ।’

गत वर्ष भन्सार राजश्वमा सवारी साधनको योगदान अघिल्ला वर्षहरुको तुलनामा ८० प्रतिशतले घटेको थियो । यो वर्ष भदौदेखि सवारी साधनबाट हुने भन्सार राजश्व संकलन बढ्न थालेको देखिन्छ ।

1

Scroll to Top