दुईवटा संसदीय समितिको बैठक आज (बिहीबार) बस्दैछ । यसमध्ये बिहान ११ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्ने भएको हो ।
उक्त बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ। यसैगरी, सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ।
साथै, बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच र प्रदेश तथा स्थानीय तहबीच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार र प्रक्रिया र सूचक तथा ढाँचाको सम्बन्धमा छलफल हुनेछ।
यस्तै, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्युनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ।


