सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशै लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको छ । दुई वर्ष कार्यकाल सकिनै लाग्दा सरकार प्रति नागरिकको विश्वास घुम्दै जाँदा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पार्टी शिर्ष नेतृत्व पुगेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड दुबै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् । यही निष्कर्षमा सबैभन्दा प्रमुख तारो बनेका छन् अर्थमन्त्री डा. युवराज खतिवडा ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका मन्त्री फेर्ने तयारी गरेका छन् ।
दुई बर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका अर्थमन्त्री खतिवडाको कार्यकाल यहि फागुन २१ गते सकिदैछ । उनलाई थप ६ महिना अर्थमन्त्री बनाउने कानुनी बाटो खुला हुँदा हुँदै पनि नेकपाका अन्य नेताको दबाबमा अर्थमन्त्री खतिवडालाई विदाई गर्न लागिएको हो ।
राष्ट्रिय सभामा गोलाप्रथाबाट खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको थियो । राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट राष्ट्रिय सभाका सदस्यहरुको पदावधी प्रारम्भिक भएको मानिने संबैधानिक व्यवस्था छ । यसअनुसार राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले २०७६ फागुन २१ मा अर्थमन्त्री खतिवडाको कार्यकाल सकिदैछ । तर थप ६ महिना मन्त्री बनाउने कानुनी बाटो खुला रहनेछ ।
बजेट र अर्थमन्त्री खतिवडाको कार्यशैलीका कारण जनतामा दुईतिहाइ बहुमतको सरकारबाट निराश हुँदै गएको जनाउदै नेकपाका सांसदहरुले अर्थमन्त्री फेर्नुपर्ने माग गर्दे आएका छन् । खतिवडा अर्थमन्त्री हुँदा केपी सरकार कर सरकारका नामले चित्रण हुन पुगेको छ । भने भरिया देखि दैनिक मजदुरी गर्ने सम्मलाई समेत प्यान नम्बर लिन बाध्य पारिएको छ । खतिवडाको पालामा राजस्व समेत लक्ष्य अनुसार उठन सकेको छैन भने सेयर बजार देखि लगानीका सबै क्षेत्र प्रभावित भएको मात्र छैन देशबाट पूँजी पलाएन हुने सम्मको अवस्था आएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि अधिकांश मन्त्रीहरु हट्नेछन् । पद मुक्त हुने मन्त्रिहरुको सूचिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठदेखि खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव लगायत परिवर्तन हुने नेकपाका नेताहरुको आकलन छ ।


