February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

तिहारका ३ दिनमा ३ सय २१ जुवाडे पक्राउ, जुवाखालमा भेटियो ३ करोड १८ लाख, कहाँ बाट कति पक्राउ परे ?

तिहारका ३ दिनमा ३ सय २१ जुवाडे पक्राउ, जुवाखालमा भेटियो ३ करोड १८ लाख, कहाँ बाट कति पक्राउ परे ?

१३ कार्तिक, काठमाडौं– प्रहरीले यस पटकको तिहारका ३ दिन (लक्ष्मीपूजादेखि भाइटीका)सम्म गरी झण्डै ३ सय २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ३ करोड १८ लाख ३७ हजार ३ सय ४६ रुपैयाँ बरामद भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो संख्या तिहारको फूलपातिदेखि भाइटीकाको रातिसम्म पर्नेहरुको हो । केही जिल्लाको विवरण प्राप्त हुन बाँकी रहेकाले जुवाको खालबाट पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौं, चितवन, पोखरा, मोरङ, भक्तपुर, लमजुङ, दाङ, नवलपरासी पूर्व, सुर्खेत, बर्दिया लगायत जिल्लाबाट गरी ३ सय २१ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले गत लक्ष्मीपूजाको दिन काठमाडौंको महाराजगञ्जबाट २५ जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो । प्रहरीका अनुसार जुवाखालबाट पौने ३ करोड रुपैयाँ बरामद हुनु नेपालकै पहिलो घटना हो ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–३ बबाट ३८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १५ लाख ५४ हजार ६ सय रुपैयाँ बरामद भएको छ । काठमाडौंकै शंखरापुर नगरपालिका–६ बाट ६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३४ हजार रुपैयाँ नगद बरामद भएको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका– ९ बाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख २५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । भक्तपुरको चागुनारायण नगरपालिका–९ बाट ६ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट ६३ हजार ३ सय रुपैयाँ नगद बरामद भएको छ ।
मोरङको विराटनगर महानगरपालिका– ३ बाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ६ लाख ६० हजार २ सय ४५ रुपैयाँ बरामद भएको छ ।
चितवनको खैरहनी नगरपालिका– १ सिमलघारीबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ नगद बरामद गरेको छ । चितवनकै भरतपुर महानगरपालिका–१४ महेन्द्र चोकबाट पनि १२ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३ लाख ८४ हजार १ सय रुपैयाँ बरामद गरिएको छ ।
सुर्खेतको वीरन्द्रनगर नगरपालिका– २ खोलीगाउँबाट ६ जना जुवाडे पक्राउ । प्रहरीले उनीहरुको साथबाट नगद ८१ हजार ८ सय ९५ रुपैयाँ बरामद भएको जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–६ बाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १० लाख ५८ हजार ५ सय १० रुपैयाँ बरामद गरेको छ ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१७ गलामबाट १७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । दाङको घोराही उपमहानगरपालिका–८ बाट ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३५ हजार ६ सय ३० रुपैयाँ बरामद गरेको जनाएको छ । दाङको लमहीबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ६ लाख ७८ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।
नवलपरासी (पूर्व)को देवचुलीबाट २८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ बरामद गरेको छ । बर्दियाको राजापुर नगरपालिका–१ बाट २२ जना र बाँसगढीबाट नगरपालिका–९ बाट ९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख २९ हजार १ सय २४ रुपैयाँ बरामद भएको छ । लमजुङको बेसीशहर नगरपालिका–११ बाट २५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट २ लाख १६ हजार ४ सय ३० रुपैयाँ बरामद गरिएको छ ।

Advertisement