आज साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १५.४१ अंकले घटेको हो । अघिल्लो दिन १२ अंकमाथिले बढ्दै १९८४ अंकमा उक्लिएको सूचक आज १५.४१ अंकले घट्दै १९६९.०२ अंकमा झरेको छ ।
सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आज कारोबार रकम २० करोड रुपैयाँ बराबरले घट्दै जम्मा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको ५६ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । हिजो १२ अंकले बढेको नेप्सेमा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २४५ कम्पनी मध्ये ४९ वटाको मात्र सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ भने बाँकी बाह्र ओटै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स सर्वाधिक २.१० प्रतिशतले घटेको बजारमा उत्पादन तथा प्रशोधनमुलक १.२० प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत र जलविद्युत ०.९१ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कारोबार भएको गोर्खाज फाइनान्सको सेयर ७५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार सहित ११ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ५ करोड ८९ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ।
कारोबारसङ्ख्या र कित्ता दुबैमा जोशी हाइड्रोपावर अगाडि छ । कम्पनीको २ लाख ७९ हजार ५६३ कित्ता सेयर १ हजार ३६७ पटक खरिद बिक्री भएको हो ।
उता आजको बजारमा पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेर ६५० रुपैयाँ पुगेको छ । दोल्ती पावर कम्पनीको सेयरको भाउ सर्वाधिक ७.३७ प्रतिशतले घटेर ४५१ रुपैयाँ १० पैसामा झरेको छ ।


