इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन् । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली विद्यार्थीको उद्धारका लागि निगमको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
नेपाल एयरलाइन्सको उक्त जहाज नियमित उडान तालिकाअनुसार दुबईका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दुबईसम्म यात्रु लिएर गएको हो । दुबईबाट भने इजरायलका लागि चाटर्डका रुपमा जाने जनाइएको छ ।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका एक सहसचिवको टोली पनि जहाजमा गएको हो । नेपालबाट उडेको जहाज दुबई ट्रान्जिट भएर जाने भएकाले करिब ७ घण्टा समय लाग्ने जनाइएको छ । यतिखेर दुवईबाट पनि जहाज अगाडि बढीसकेको छ ।
नेपाली विद्यार्थीलाई लिएर जहाज आजै नेपाल फर्किने जनाइएको छ । उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई विमानस्थल नजिकै दुई ठाउँमा ठूलो समूहमा राखिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुरक्षा जोखिममा रहेका ३५० भन्दा बढी नेपाली विद्यार्थीले स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेको दूतावासले जनाएको छ । चार्टर्ड विमानमा २५० जना मात्रै यात्रु अट्ने भएकाले बाँकीलाई दूतावासले नै सरकारी खर्चमा नियमित उडानबाट नेपाल फर्काउने तयारीसमेत गरिसकेको राजदूत कान्ता रिजालले जानकारी दिइन् ।
हमासले गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।


