चालू आर्थक ०८०÷०८१ मा धान उत्पादनमा वृद्धि भएको छ । यो वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको हो । गत वर्षभन्दा यस वर्ष दुई लाख ३७ हजार सात सय ६२ मेट्रिकटन धान बढी उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
धन उत्पादन वृद्धि भएपनि यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने गत वर्षको तुलनामा आठ हजार आठ सय हेक्टर कम भएको छ ।
गत वर्ष १४ लाख ४७ हजार हेक्टर जमिनमा रोपाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिकटन उत्पादकत्व रहेको धान यो वर्ष तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर रहेको छ ।
कृषि अनुसन्धान परिषद्का वैज्ञानिक तथा धानविज्ञ डा. उज्ज्वल कुशवाका अनुसार जमिन घट्दा पनि उत्पादन बढ्नुमा उन्नत जातका धान लगाउने किसानको संख्या बढेको हो । उनले भने, ‘यस वर्ष मौसमले पनि किसानलाई साथ दिएको थियो, मललगायतको समस्या विगतको जस्तो भएन, त्यसको परिणाम उत्पादन सन्तोषजनक छ ।’
यस वर्ष मौसम प्रतिकूल, किराको प्रकोप घटेको र कृषि क्षेत्रमा बढ्दो आधुनिकीकरणको प्रभावले विगतको तुलनामा उत्पादन वृद्धि भएको मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले बताइन् । उनले भनिन्, ‘यस वर्ष मलखादको समस्या रहेन, विगतको जस्तो बाढीपहिरोको प्रकोप पनि नहुँदा जमिन घटे पनि उत्पादन बढ्यो ।’
मन्त्रालयका अनुसार यो उत्पादन पछिल्लो चार वर्षको औसतभन्दा पाँच दशमलव शून्य ८ प्रतिहेक्टर मेट्रिकटन बढी हो । धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४ दशमलव ९७ प्रतिहेक्टर मेट्रिकटनले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ । जुन गत गत चार वर्षको आसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिहेक्टर मेट्रिकटन बढी रहेको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा सर्वाधिक १४ लाख ३५ हजार मेट्रिकटन धान उत्पादन भएको छ । यो गत वर्षभन्दा करिब एक लाख मेट्रिकन बढी धान उत्पादन भएको छ । उक्त प्रदेशमा गत वर्षभन्दा आठ हजार दुई सय १६ हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष तीन लाख २४ हजार हेक्टरमा रोपाइँ भएको थियो । उत्पादकत्वको हिसाबले उक्त प्रदेशमा ४ दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । गत वर्ष ४ दशमलव ०२ मेट्रिकटन प्रतिहेक्टर रहेको थियो ।
मधेशमा भने धान उत्पादन घटेको तथ्यांक छ । यस वर्ष मधेशमा १३ लाख ३७ हजार ६ सय ७२ मेट्रिकटन धान उत्पादन भएको छ । यो गत वर्षभन्दा करिब ५१ हजार मेट्रिकटन कम उत्पादन हो । उत्पादत्व पनि तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । गत वर्ष तीन दशमलव ७० मेट्रिकटन प्रतिहेक्टर रहेको थियो ।
धान उत्पादमा सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । उक्त प्रदेशमा एक लाख ४५ हजार मेट्रिकटन धान उत्पादन भएको हो । यो गत वर्षको तुलनामा १५ हजार पाँच सय ९० मेट्रिकटन बढी हो ।
गत वर्ष ३८ हजार ६ सय २७ हेक्टर जमिनमा धान रोपाइँ भएकोमा यस वर्ष ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ भएको थियो । कर्णालीको उत्पादकत्व तीन दशमलव ४६ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । गत वर्ष तीन दशमलव ३५ मेट्रिकटन प्रतिहेक्टर रहेको थियो ।


