Banijya News

राष्ट्रिय ध्वजावाहक कमजोर बन्दा विदेशी वायुसेवाले उठाए लाभ

1
1.0K Shares

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम कमजोर बन्दा विदेशी वायुसेवा कम्पनीहरूले लाभ उठाउन थालेका छन् । निगमका जहाजहरू उड्नेभन्दा धेरै ग्राउन्डेड भइदिँदा २५ प्रतिशतसम्म पुगेको अन्तर्राष्ट्रिय बजार हिस्सा सन् २०२३ मा १४.२ प्रतिशतमा खुम्चिएको छ ।

गत वर्ष त्रिभुवन विमानस्थलबाट हालसम्मकै धेरै ४५ लाख ४१ हजार हवाई यात्रुले अन्तर्राष्ट्रिय यात्रा (आवतजावत) गरेका छन् । सोमध्ये ६ लाख ४५ हजार एक सय ६६ यात्रुलाई निगमले सेवा दिएको छ । यो संख्या कुल यात्रुको १४.२ प्रतिशत मात्र हुन आउँछ । बाँकी यात्रुलाई स्वदेशी लगानीकै हिमालय र बुद्ध एयरसहित विदेशी वायुसेवा कम्पनीले सेवा दिएका हुन् । गत वर्ष तीनवटा स्वदेशीसहित ३५ भन्दा धेरै वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सेवा दिएका थिए ।

 

सन् २०१९ मा निगमले कुल अन्तर्राष्ट्रिय यात्रुमध्ये १८ प्रतिशतलाई सेवा दिएको थियो भने सन् २०२० मा २५ प्रतिशत, सन् २०२१ मा २० प्रतिशत र सन् २०२२ मा १६.५६ प्रतिशत यात्रुलाई सेवा दिएको देखिन्छ  ।निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस–३३० र दुईवटा न्यारोबडी एयरबस–३२० जहाज छन् । न्यारोबडी जहाजहरू उडानभन्दा बढी ग्राउन्डेड हुँदै आइरहेका छन् । अहिले पनि निगमको न्यारोबडी ९एन–एकेएक्स कलसाइनको जहाज ग्राउन्डेड अवस्थामै छ । यो जहाज पछिल्लो ६ महिनामा चार महिनाभन्दा बढी ग्राउन्डेड भइसकेको छ ।

२८ डिसेम्बर २०२१ मा बायाँ इन्जिनमा समस्या आएर न्यारोबडी ९एन–एकेडब्लू कतारको दोहामा ग्राउन्डेड भएको थियो । त्यसयता दुईवटा न्यारोबडी जहाज पटक–पटक महिनौँ ग्राउन्डेड भइरहेका छछ् । यसरी जहाज ग्राउन्डेड भइरहँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त भएको छ । साथै, व्यस्त सिजनमा जहाज अभावले उडान कटौती गर्नुपर्दा निगमको बजार हिस्सा विदेशी कम्पनीले लिन थालेका छन् ।

 

निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा, जापान, दुबई, दम्मामलगायतका गन्तव्यमा उडान गर्दै आएको छ । निगमले वाइडबडी जहाजबाट कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जापानबाहेक अरू लामो दूरीका गन्तव्यमा उडान गर्न सकेको छैन । लामो दूरीमा उडान गर्ने जहाजलाई छोटो दूरीमा प्रयोग गर्दा निगमले वाइडबडीमा ठूलो घाटा व्यहोर्दै आएको छ ।

 

निगम नेतृत्व जहाजहरू उडाएर आम्दानी गर्नेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ सेवामा सन्तुष्ट भएर बसेका छन् । ग्राउन्ड ह्यान्डलिङ सेवामा केन्द्रित हुँदा भएका जहाजहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निगम व्यवस्थापन अक्षम सावित हुँदै आएको छ । निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस हुन्छ । निगमले काठमाडौं, भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

1

Scroll to Top