सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म वित्तीय बजारमा २६ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह भएको छ । यो बजारमा नगद परिचालन परिमाणका आधारमा ४.२९ प्रतिशत बृद्धि हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा माघसम्म ६ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँ नगद परिचालन रहेको छ । गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो । यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ४.२९ प्रतिशतले बढेको हो ।
त्यसैगरी, पछिल्लो ७ महिनामा सरकारी कोष ३०८.५६ प्रतिशतले बढेको छ । गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो । माघसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ८४ अर्ब २२ करोड रुपैयाँको उचाइमा पुगेको छ । पुससम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।समीक्षा अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस माघ मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।


