पर्यटकीय सहर पोखरा आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।
समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो ।
पर्यटकीय राजधानी घोषणासँगै पोखरा अब २४ सै घन्टा खुला हुने भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए । उनका अनुसार व्यवसाय हेरेर केहीलाई राति १ बजेसम्म र केहीलाई २४ सै घन्टा खुला गर्न दिने निर्णय बैठकले गरेको हो ।
क्षत्रीका अनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ । डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४ सै घन्टा खुल्नेछन् । यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हँुदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४ सै घन्टा खुला राख्ने निर्णय बैठकले गरेको क्षत्रीले जानकारी दिए ।


