ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासङ्घ नेपालको सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवप्रसाद नेपाललाई सर्वसम्मत चयन गरेको छ । आइतवार भएको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचनमार्फत् उपाध्यक्षहरुमा अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए । यस्तै, सचिवमा धर्मराज पोखरेल, कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी, महासचिवमा पुष्पराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ यस अघि महासङ्घको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी सङ्घ काठमाडौँको अध्यक्ष समेत हुन् ।
सह–कोषाध्यक्षमा टेकराज पोखरेल चयन भएका छन् । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए । छैटौँ महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरूमा भोला पौडेल, कृष्णप्रसाद ढुङ्गेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन् ।
साथै ९ जना कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । जसमा दिलीप अर्याल, सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल, नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन् ।
‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरूलाई एकीकृत गर्ने र व्यवसायीहरूको साझा समस्याहरू समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासङ्घ नेपालको स्थापना भएको हो । अहिले महासङ्घमा १८ वटा स्थानीय संस्थाहरू समेत आबद्ध रहेका छन् ।
निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित भएसँगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनले बताए ।


