Banijya News

तेल उत्पादन बढाउन इरानले गर्‍यो १३ अर्ब डलरको सम्झौता

1
1.0K Shares

पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन आइतबार घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारी टिभीमा प्रसारित एक समारोहमा तेल मन्त्रालय र इरानी व्यवसायीहरूले छ वटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले उक्त सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ । एजेन्सीका अनुसार उनीहरूले मुलुकको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् ।

अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म मुलुकको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने वाचा गरेका थिए । “फारसी क्यालेन्डरअनुसार नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्नेछ”, उनले भनेका थिए ।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागु भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्रलाई झट्का लागेको थियो । पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए ।

तेल मन्त्रालयका अनुसार इरान इराकको सीमामा रहेको खुजेस्तान प्रान्तमा अजादेगनसहित आफ्नो पश्चिमी तथा दक्षिणपश्चिमी क्षेत्रमा तेल उत्पादनलाई बढाउन सहयोग गर्न ‘घरेलु विशेषज्ञतामा भरोसा गर्नेछ ।’

इरानको सबैभन्दा पुरानो तेल क्षेत्र खुजेस्तानमा मस्जेद सोलेमनको विकास सम्झौतामा पनि हस्ताक्षर गरिएको छ । सन् १९०८ मा पहिलो पटक खनिएको मस्जेद सोलेमनमा कुवा नम्बर १ मध्यपूर्वमा सबैभन्दा पुरानो हो ।

1

Scroll to Top